आजको मौसम पूर्वानुमान : यी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारण बदली रहने र केही क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बंगालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभाव जारी रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ।
मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि यी क्षेत्रहरूमा मेघगर्जनसहित मध्यम देखि भारी वर्षाको सम्भावना बनेको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो र भूक्षयको जोखिम रहेकोले सतर्कता अपनाउन सुझाव दिएको छ। यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक यात्रा मात्र गर्न र मौसमको अद्यावधिक जानकारी लिन सिफारिस गरिएको छ।