२७ घण्टामै सरकार ढाल्न सफल ‘जेनजी’ आन्दोलन, तर कहाँ अलमलियो?

भैरहवा – भदौ २३ गते सुरु भएको ‘जेनजी’ पुस्ताको आन्दोलनले देशको राजनीतिक नक्सा एकैछिनमा बदलिदियो। आन्दोलन सुरु भएको करिब २७ घण्टामै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नुपरेको थियो।
आन्दोलनको पहिलो दिन सुरक्षा निकायको बल प्रयोगका कारण ठूलो मानवीय क्षति भएको जनाइएको छ। त्यसको प्रतिक्रियास्वरूप भोलिपल्ट देशभरै युवा सडकमा उत्रिए, जसले अर्बौं मूल्यबराबरको भौतिक संरचनामा क्षति पुर्यायो।
अचानक चर्किएको आन्दोलनले सरकारलाई दबाब झेल्न नसक्ने अवस्थामा पुर्यायो। अन्ततः मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गरे। त्यसपछि मुलुक नेतृत्वविहीन अवस्थामा पुगेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र सेनापति अशोकराज सिग्देलले आन्दोलनकारी युवाहरूसँग वार्ता गर्न आह्वान गरिसकेका छन्। जेनजी अगुवाहरूबीच बुधबारदेखि छलफल भइरहेको र बिहीबारभित्रै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई वार्ताको प्रतिनिधिका रूपमा अघि सार्ने तयारी भएको बुझिएको छ।
यद्यपि, आन्दोलन सफल भए पनि आगामी राजनीतिक संरचना कसरी अघि बढाउने भन्नेबारे स्पष्ट खाका अझै बनेको छैन। आन्दोलन नेतृत्वविहीन शैलीमा अघि बढाइएकाले सामूहिक निर्णयमै अडिनुपर्ने बाध्यता देखिएको छ। यही कारण मुलुकमा अन्योल र सत्ता शून्यता देखिएको छ।