संसद विघटन र अन्तरिम सरकारको माग गर्दै मेयर बालेन

भैरहवा – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसद विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
सामाजिक सञ्जालमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठनमार्फत नयाँ निर्वाचनको मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
बालेनले जनयुवाको आवाजका आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम चुनावी सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका छन्। उनले लेखेका छन्, "देश अप्ठ्यारो मोडमा पुगेको छ। यस्तो बेला सबैले धैर्यपूर्वक अगाडि बढ्नुपर्छ। नयाँ निर्वाचनमार्फत जनताले दिनुहुने जनादेश नै दीर्घकालीन समाधान हो।"
उनले हतारमा पद पाउने भन्दा पनि देशलाई दीर्घकालीन स्थायित्व दिने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै, राष्ट्रपति समक्ष संसद विघटन र अन्तरिम सरकार गठन तत्काल आवश्यक रहेको पुनः जोड दिएका छन्।