रास्वपाभित्र आन्तरिक असहमति, तोसिमाको नेतृत्वप्रति प्रहार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वसांसद तोसिमा कार्कीले पार्टी नेतृत्वविरुद्ध तीव्र असन्तुष्टि प्रकट गरेकी छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र रुपान्तरणको आवाज उठाउँदा उल्टै ‘गेटआउट’ भन्ने प्रवृत्ति हावी भएको आरोप लगाएकी छिन्।
कार्कीका अनुसार पार्टीलाई सुदृढ र समयअनुकूल बनाउन प्रस्तुत गरिएका सुझावलाई गम्भीरतापूर्वक लिनुको सट्टा आफ्नै सहकर्मीहरूबाट अपमानजनक व्यवहार भोग्नु परेको छ। उनले चेतावनी दिंदै भनेकी छन्, “राजनीतिक विषयलाई जिम्मेवार ढंगले उठाउँदा गेटआउट भनियो भने सार्वजनिक भण्डाफोर नगरी बस्ने विकल्प रहँदैन।”
उनले पार्टी नेतृत्वसमक्ष चार बुँदे प्रस्ताव बुझाएको भए पनि त्यसलाई गलत ढंगले प्रस्तुत गरी आफू राजीनामा दिन लागेको जस्तो अफवाह फैलाइएको दाबी गरेकी छन्। उनका शब्दमा, “पत्रको आशय बुझ्न पनि तयार नहुने, विकल्प खोज्यो भनेर हल्ला मच्चाउने र मिडिया ट्रायलमार्फत कार्यकर्तामाझ भ्रम फैलाउने काम भइरहेको छ।”
कार्कीले पार्टी संस्थापनलाई खुला चुनौती दिंदै आवश्यक परे विशेष अधिवेशन गर्न आग्रह गरेकी छन्। उनका अनुसार पार्टी नेतृत्वले यदि आत्मविश्वास राख्छ भने कार्यकर्ता र शुभेच्छुकको समर्थनसहित आफूलाई पनि प्रतिस्पर्धामा उतार्ने आँट देखाउनुपर्छ।
तर, उनले आफूलाई लक्षित गरेर ‘गेटआउट’ भन्ने वा ‘बुल्ली’ गर्ने व्यक्तिहरूको नाम भने सार्वजनिक गरेकी छैनन्। यसबारे उनले थप विवरण नखोल्दा पार्टीभित्रको आन्तरिक विवाद अझै गहिरिँदै गएको देखिएको छ।