Bhairahawa Online Logo
Politics

कांग्रेस कार्यसमितिको बैठक आज, चियापान कार्यक्रम स्थगित

Share:
Bhairahawa Online
कांग्रेस कार्यसमितिको बैठक आज, चियापान कार्यक्रम स्थगित

काठमाडौं — नेपाली कांग्रेसले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी नगरमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरू सहभागी हुनेछन्।

पार्टी सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गर्दै हालसालै भएको जेनजी आन्दोलन, समसामयिक राजनीतिक परिस्थिति र पार्टीभित्रका सांगठनिक विषयमा छलफल गर्ने तयारी गरेका छन्।

यसैबीच, कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा परम्परागत रूपमा हुँदै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने निर्णय गरेको छ।

वि.सं. २०३३ सालदेखि जननायक बी.पी. कोइरालाले सुरु गरेको राष्ट्रिय एकता र मेलमिलापको परम्परालाई निरन्तरता दिँदै कांग्रेसले प्रत्येक वर्ष चियापान आयोजना गर्दै आएको थियो। तर, यस पटक मुलुक शोकमा डुबेको र पार्टी केन्द्रीय कार्यालयसमेत हालैको घटनामा क्षतिग्रस्त भएको कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको हो।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो विषम परिस्थितिमा थप राष्ट्रिय एकता र मेलमिलाप आवश्यक छ। आम नागरिक अकल्पनीय पीडामा रहेका बेला चियापान आयोजना उपयुक्त नहुने निष्कर्षमा पुगेर यस वर्ष कार्यक्रम स्थगित गरिएको छ।”

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News