“अध्यक्ष ओलीको राहदानी रोक्काप्रति एमालेको गम्भीर आपत्ति”

भक्तपुर – नेकपा (एमाले)ले असोज २७, २८ र २९ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। पार्टी सचिवालयको गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा एजेण्डा तय गर्नका लागि असोज १९ र २० गते सचिवालय बैठक बस्ने तय गरिएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा आगामी राष्ट्रिय महाधिवेशनसमेतबारे निर्णय हुन सक्नेछ। उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको जानकारी दिए।
बैठकले आन्दोलनमा संलग्न तोडफोड तथा आगजनीका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ। तर, यसैबीच, भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने निर्णयलाई एमालेले कडा आपत्ति जनाएको छ।
ज्ञवालीले गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर गरिएको निर्णयले आयोगको विश्वसनीयतामै प्रश्न उठाएको टिप्पणी गरे। उनका अनुसार सरकारले राजनीतिक दलहरुलाई बाइपास गर्दै निषेध गर्ने प्रवृत्ति देखाएको छ।
“सरकारले संवाद र सम्पर्क नगरी दलहरुलाई पन्छाउने मात्र नभई निषेध गर्ने प्रयास गरेको छ, यसप्रति हामी गम्भीर र चिन्तित छौँ,” ज्ञवालीले भने।
उनले आन्दोलनका घटनामा संलग्न व्यक्तिलाई पक्राउ नगर्न सरकारबाट दिइएको निर्देशनले नेपाल प्रहरीको कानुनी अधिकारक्षेत्रमा हस्तक्षेप भएको दाबी गरे। यसले दोषीहरुको मनोबल बढाएको उनको आरोप छ।
ज्ञवालीले कतिपय नेताले पुराना दलहरुलाई चुनावमा जानै नदिने अभिव्यक्ति दिएको भन्दै यसले चुनावको वैधता र विश्वसनीयतामै प्रश्न उठाउने टिप्पणी गरे।