रास्वपाले पूर्व सांसदलाई रातो पासपोर्ट फिर्ता गर्न निर्देशन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसद परिचयपत्र संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ।
पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सांसदको रूपमा प्राप्त भएको रातो पासपोर्ट र परिचयपत्र तोकिएको समयभित्र फिर्ता गर्न पूर्व सांसदहरूलाई निर्देशन दिइएको छ।
यसैसँगै पार्टीले दशैं लगायतका चाडपर्वको अवसरमा कुनै पनि किसिमको उपहार स्वीकार नगर्ने नीति जारी गरेको छ। विज्ञप्तिमा सबै तहका नेताहरूलाई शुभकामना पत्र बाहेक अन्य कुनै उपहार नलिन र नदिन पनि स्पष्ट रूपमा निर्देशन दिइएको छ।
'जेनजी' आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकोले पार्टीले यसपटक चाडपर्वमा आधिकारिक ब्यानर र झण्डाको प्रयोग गरेर कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको छ। पार्टीले यस समयलाई राष्ट्रिय शोकको अवधि घोषणा गर्दै सदस्यहरूलाई सम्बन्धित निर्देशन पालना गर्न आग्रह गरेको छ।