गगन थापा : “सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत”

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर गलत कदम चालेको टिप्पणी गरेका छन्। उनले सरकारले उल्टो बाटो लिएको भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरे।
थापाका अनुसार सर्वोच्च अदालतले सामाजिक सञ्जालमार्फत हुने अनिच्छित सामग्री नियन्त्रण र दुरुपयोग रोक्न कानुनी व्यवस्था गर्न आदेश दिएको भए पनि, त्यसलाई आधार बनाएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय उचित छैन। उनले भने, “सञ्जाल बन्द गर्ने होइन, छिटो कानुन बनाएर नियमनतर्फ अघि बढ्नुपर्छ।”
उनले सामाजिक सञ्जाललाई अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस, नागरिक–सरकार बीचको जवाफदेहिताको महत्वपूर्ण मञ्चका रूपमा चित्रण गरे। साथै यसले उद्यमशीलता र डिजिटल अर्थतन्त्रलाई समेत बल पुर्याएको भन्दै कुनै पनि प्रतिबन्धले नागरिक अधिकार संकुचित गर्ने चेतावनी दिए।
थापाले सामाजिक सञ्जाललाई सुरक्षित र जिम्मेवार बनाउन कानुन निर्माण प्रक्रियामा तदारुकता देखाउन सरकारलाई आग्रह गरेका छन्।