Bhairahawa Online Logo
News

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विभागमार्फत हुने

Share:
Bhairahawa Online
अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विभागमार्फत हुने

काठमाडौं — लामो समयदेखि ठप्प रहेको अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियालाई पुनः सुरु गर्ने निर्णय गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच सहमति भएपछि तत्कालका लागि विभागमार्फत नै दर्ता र नवीकरण गरिने भएको हो।

यससँगै संघीय सरकारअन्तर्गत दर्ता भएका करिब ४ हजार ५ सयभन्दा बढी अनलाइन सञ्चारमाध्यमलाई विज्ञापनसम्बन्धी कारोबार गर्न सहज हुने भएको छ।

नेपाल पत्रकार महासंघले केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाउँदै ७२ घण्टे अल्टिमेटम दिएको थियो। महासंघका अध्यक्ष निर्मला शर्माका अनुसार अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम दर्ता भएका अनलाइनले प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि ६ महिनाभित्र नवीकरण गर्नुपर्ने प्रावधान छ।

प्रेस काउन्सिल र विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य निरन्तरता दिने र सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र पूर्ववत् जारी गर्ने सहमति भएको छ। साथै, छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ लाई १५ दिनभित्र स्वीकृत गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ।

हालैको कानुनी संशोधनले दर्ता र नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था गरे पनि नियमावली नबनिएकै कारण सेवा अवरुद्ध भएको थियो। यसले देशभरका अनलाइन सञ्चारमाध्यमको सञ्चालनमा गम्भीर असर पारेको थियो। अब भने विभागमार्फत सेवा सुचारु भएपछि तत्कालका समस्या समाधान हुने अपेक्षा गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News