नेपालको सार्वजनिक ऋण २७ खर्ब पार, प्रतिव्यक्ति ऋणभार ९४ हजार

काठमाडौं — देशको सार्वजनिक ऋणले चालु आर्थिक वर्षमा २७ खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ जुन प्रतिव्यक्ति ९४ हजार ६५ रुपैयाँको ऋणभार हो।
प्रधानमन्त्री कार्यालयले जारी गरेको तथ्याङ्कअनुसार ३५ वर्षअघि २०४७ सालमा प्रतिव्यक्ति ऋणभार २ हजार ८४२ रुपैयाँ मात्र थियो भने कुल सार्वजनिक ऋण ५१ अर्ब ४७ करोड थियो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ऋणमा उल्लेख्य वृद्धि दर्ता भएको छ।
हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋण ४३.९ प्रतिशत रहेको छ जुन २०४७ सालको तुलनामा ६.८ प्रतिशत बिन्दुले कम तापनि प्रतिव्यक्ति आयको तुलनामा ऋणभार निकै बढेको देखिन्छ।
सरकारले सार्वजनिक ऋण उत्पादनशील क्षेत्रमा मात्र प्रयोग भइरहेको दाबी गर्दै आय, उत्पादन र रोजगारी बढाउनेतर्फ सचेत रहेको जनाएको छ। सरकारको दाबी अनुसार नेपालको ऋणभार अन्य देशहरूको तुलनामा न्यून रहेको छ।