मनसुन सक्रिय: लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ। अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा बदली र वर्षा भइरहेको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा अन्य भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराईमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
---