अध्यक्ष दाहाल : "विगतजस्तो प्रभाव छैन, अब शान्तिपूर्ण आन्दोलन आवश्यक"

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दलित अधिकार र सामाजिक न्यायका लागि केवल कानुनी व्यवस्था पर्याप्त नभएको भन्दै सडक संघर्ष अपरिहार्य भएको बताएका छन्।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले कार्यकर्ता र नेताहरूलाई एकजुट भई आन्दोलनमा उत्रिन आह्वान गर्दै विगतमा आफूलाई जनताले हेर्ने दृष्टिकोण अहिले जस्तो नरहेको स्वीकार गरे। "पहिले चुनाव जाँदा जनमुक्ति सेनाको सुरक्षा हुन्थ्यो, त्यो बेला 'प्रचण्ड' भन्नासाथ मान्छेले फरक नजरले हेर्थे। अहिले त्यस्तो छैन," दाहालले भने।
उनले भने, आन्दोलन भनेको पुनः सशस्त्र युद्ध होइन, बरु शान्तिपूर्ण तरिकाबाट शक्ति आर्जन गर्ने माध्यम हो। "फेरि सेना बनाउनुपर्छ भन्ने होइन। तर जेल–नेल, यातना खान तयार भएर सडकबाटै अधिकार हासिल गर्नुपर्छ," उनले स्पष्ट पारे।
दाहालका अनुसार चाडपर्वपछि सडक आन्दोलनलाई मुख्य रणनीति बनाएर अघि बढ्ने तयारी गरिएको छ।