रुपन्देहीमा माओवादी केन्द्र एक्लै चुनावमा जाने : प्रचण्ड

बुटवल — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल *प्रचण्ड* ले रुपन्देहीमा पार्टी एक्लै चुनाव लड्ने घोषणा गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा माओवादी केन्द्रले अघिल्ला भन्दा उत्कृष्ट नतिजा निकाल्ने दाबी गरे।
प्रचण्डले भने, “रुपन्देहीमा हामी अझ राम्रो नतिजा ल्याउँछौं। यसका लागि पार्टी संरचना र कार्यकर्ताहरू पूर्ण रूपमा तयार हुनु जरुरी छ।”
पार्टीभित्र देखिएका असन्तुष्टि र बहसलाई उनले वर्गसंर्घषको स्वाभाविक रूपका रूपमा व्याख्या गर्दै आन्तरिक मतभिन्नतालाई सकारात्मक रूपमा लिन आग्रह गरे। उनले ऐतिहासिक क्रान्तिकारी आन्दोलनहरूमा पनि यस्ता बहस सामान्य रहेको उदाहरण दिए।
उनले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा माओवादी केन्द्रले पुर्याएको योगदानलाई स्मरण गर्दै ती उपलब्धीलाई व्यवस्थित अभिलेखीकरण गर्ने अभियान सुरु गर्ने घोषणा गरे। “सहिद, घाइते, अपांगता बोकेका, जेलनेल भोगेका सबै नागरिकको योगदानलाई सम्मान गर्न मापदण्ड तयार गरिन्छ,” प्रचण्डले भने।
उनका अनुसार हाल माओवादी केन्द्रप्रति जनताको विश्वास पुनः बढ्दै गएको छ, जसले प्रतिक्रियावादी र बिचौलिया शक्तिहरूलाई असहज बनाएको छ। तर उनले विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझै अघि बढ्ने विश्वास व्यक्त गरे।
बैठकमा प्रचण्डले संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको भरोसा कायम गर्ने रणनीति र समाजवादी क्रान्तिको मार्गमा पार्टीलाई केन्द्रीत गर्ने विषयमा धारणा राखे।
लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बैठकले रुपन्देहीमा माओवादी केन्द्रलाई एक्लै उभिन सक्षम बनाउने संकेत दिएको बताए। उनका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधनले पार्टीलाई आत्मसमिक्षा, संगठनात्मक पुनर्निर्माण र भविष्यका चुनौती सामना गर्ने दिशामा अघि बढ्न प्रेरणा दिएको छ।