अमेरिकी सामानमा शून्य भन्सारको प्रस्ताव भएको ट्रम्पको दाबी

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा लगाइने आयात शुल्क शून्यमा झार्ने प्रस्ताव अघि सारेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त प्रस्ताव ढिलो आएको टिप्पणी गरेका हुन्।
ट्रम्पका अनुसार भारतले अमेरिकासँगको व्यापारलाई लामो समयदेखि एकतर्फी रूपमा उपयोग गर्दै आएको छ। उनका भनाइमा, अमेरिका भारतका लागि ठूलो ग्राहक भए पनि भारतले अमेरिकी उत्पादन सीमित मात्रामा खरिद गर्छ। “अमेरिकाले भारतसँग धेरै कम व्यापार गर्छ, तर भारतले हामीसँग धेरै व्यापार गर्छ। यो सम्बन्ध दशकौंदेखि पूर्णतया एकतर्फी रहँदै आएको छ,” उनले भने।
ट्रम्पले अमेरिकी व्यवसायीलाई भारतमा अझै पनि ठूलो अवरोध रहेको उल्लेख गर्दै, भारतले अन्य मुलुकको तुलनामा अमेरिकामाथि उच्चतम शुल्क लगाउँदै आएको आरोप लगाए। उनले थपे, “भारतले आफ्नो तेल र सैन्य उत्पादनको अधिकांश हिस्सा रुसबाट किन्छ, अमेरिकाबाट भने न्यून मात्रामा खरिद गर्छ।”
भारतले अमेरिकी सामानमा भन्सार शून्य गर्ने प्रस्ताव अब मात्र आएको भन्दै उनले यसलाई वर्षौं अघि नै लागू गर्नुपर्नेमा जोड दिएका छन्।