मनसुनी वायुको प्रभाव : आज देशभर वर्षाको सम्भावना

काठमाडौं — मनसुनी वायुको सक्रियताका कारण आज पनि देशभर वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार देशका सबै प्रदेशहरूमा साधारण वर्षा रहने देखिन्छ।
विभागले प्रकाशित २४ घण्टाको पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै तराई क्षेत्रका एक–दुई स्थानहरूमा चट्याङ वा मेघगर्जनसहितको मध्यम वर्षाको पनि सम्भावना छ।
देशका सबै प्रदेशहरूका पहाडी भू–भागहरूमा साधारण बदली रहने छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने छ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरू तथा तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा साधारण बदली रहने छ भने बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।