नक्खु कारागारमा आगजनी उक्साएको आरोपसहित रास्वपा प्रवक्ता मनीष झाको भिडियो भाइरल

बुटवल – सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा पूर्व सांसद मनीष झाले जेनजी आन्दोलनका क्रममा नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको दाबी गरिएको भिडियो तीव्र रूपमा फैलिएको छ।
भिडिओमा युवाहरूको समूहले गेटमा आगो लगाइरहेको देखिन्छ भने झा हात हल्लाउँदै त्यहाँबाट हिँडेको दृश्य देखिन्छ। भिडियो सार्वजनिक गर्नेहरूले उनलाई आगजनीका लागि युवाहरूलाई उक्साएको आरोप लगाएका छन्। तर, उक्त भिडियोको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
यसबारे झाले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
जेनजी आन्दोलनकै कारण भदौ २४ गते असुरक्षाको बहाना देखाउँदै रास्वपा सभापति रवि लामिछानेलाई जेलबाहिर ल्याइएको थियो। त्यसबेला उनले ‘भागेको’ आरोप खेपेका थिए। तर लामिछानेले प्रशासनकै पत्रका आधारमा बाहिरिएको दाबी गरेका थिए, जुन पत्र नक्कली भएको भन्दै विवादसमेत भएको थियो।
हाल लामिछाने पुनः कारागार फर्किइसकेका छन् र सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा छन्। मुद्दाको अन्तिम फैसला भने अझै हुन बाँकी छ।
---