९ अक्टोबरमा जेन-जी प्रदर्शन नहुने, गलत सूचनाको खण्डन

काठमाडौं — सामाजिक सञ्जालमा ९ अक्टोबरमा जेन-जी समूहले प्रदर्शन गर्ने भनी फैलिएको सूचना गलत रहेको आन्दोलनका अगुवाहरूले खण्डन गरेका छन्। जेन-जी प्रतिनिधिहरूले यस्तो कुनै प्रदर्शनको योजना नभएको स्पष्ट पारेका छन्।
जेन-जी अगुवा पुरुषोत्तम यादवले भने, "हामीले आधिकारिक रूपमा कुनै प्रदर्शनको सूचना जारी गरेका छैनौं। सामाजिक सञ्जालमा फैलिएको सूचना पूर्ण रूपमा गलत हो।"
आन्दोलनका अर्को प्रतिनिधि मिराज ढुंगानाले भनेका छन्, "अहिले तोडफोड गर्नुपर्ने, आक्रोशमा आउनुपर्ने केही कुरा छैन। बेकारमा हिंसा गर्ने काम मात्र हामी गर्नेवाला छैनौं।"
प्रहरीले पनि यस विषयमा जानकारी लिँदै गरेको बताएको छ। एक प्रहरी अधिकृतको भनाइमा प्रदर्शनसम्बन्धी अधिकांश भ्रामक सूचना नेपालबाहिरबाट पोस्ट भएको पाइएको छ।
रक्षा बम र युजन राजभण्डारीको समूहले विज्ञप्ति जारी गर्दै शान्ति र सुव्यवस्था खलबल्याउने प्रयास भइरहेको बताएका छन्। उनीहरूको भनाइमा मुलुकमा चुनाव नै नहोस् भन्ने चाहना राख्ने व्यक्तिहरूले यस्ता गलत सूचना फैलाइरहेका छन्।