आज महागौरी देवीको पूजा, दसैंको नवौं दिन

काठमाडौं — दसैंको नवौं दिन आज आश्विन शुक्ल अष्टमीका अवसरमा नवदुर्गामध्ये आठौं देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। वैदिक सनातन परम्परा अनुसार यस दिन महागौरी देवीको विशेष पूजा गरिन्छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईको अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौं दिनमा महागौरी देवीको पूजा गरिँदैछ। पुराण अनुसार महागौरी देवी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेत वस्त्र धारण गरेकी स्वरूपमा पूजिँद्छिन्।
घटस्थापनाको दिनदेखि सुरु भएको नवरात्रको अन्तिम चरणमा पुगिएको छ। आज महागौरी देवीको पूजा पश्चात् आश्विन शुक्ल नवमीका दिन सिद्धिदात्री देवीको पूजा गरी नवरात्रको समापन हुनेछ।
देशभरका शक्तिपीठहरूमा आज भक्तजनको घुइचो लागेको छ। दुर्गा सप्तशती र देवी स्तोत्र पाठका साथै विधिपूर्वक पूजा आराधना गरिँदैछ। धार्मिक मान्यता अनुसार नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मानिन्छ।
