ट्रम्पको चेतावनी : भेनेजुएलाले खतरा बढाए लडाकु विमान खसालिने

भैरहवा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसैनिक जहाजमाथि उडान भरि सुरक्षा जोखिम उत्पन्न गरे गोली हानी खसालिने स्पष्ट चेतावनी दिएका छन्।
अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार भेनेजुएलाले लगातार दुई दिन दक्षिण अमेरिकी तट नजिकै अमेरिकी जहाज वरिपरि सैन्य विमान उडाउन थालेपछि ट्रम्पको कडा प्रतिक्रिया आएको हो।
यसअघि भेनेजुएलाबाट लागूऔषध ओसारपसार भइरहेको शंका गरिएको जहाज अमेरिकी सेनाको कारबाहीमा खसेपछि ११ जनाको मृत्यु भएको थियो। अमेरिकाले सो घटनामा आपराधिक गिरोह संलग्न रहेको दाबी गरेको छ।
तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले लगाएका सबै आरोप अस्वीकार गर्दै समस्या सैन्य द्वन्द्व होइन, कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने बताएका छन्।
व्हाइट हाउसका अनुसार संयुक्त राज्य अमेरिकाले हालै १० वटा एफ–३५ लडाकु विमान प्युर्टो रिको पठाउने निर्णय गरेको छ।
ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन्। केही महिना अघि मात्रै उनले मादुरोको गिरफ्तारीमा सहयोग पुग्ने जानकारी दिने व्यक्तिलाई दिइने पुरस्कार बढाएर ५ करोड अमेरिकी डलरसम्म पुर्याएका थिए। ट्रम्पले मादुरोलाई विश्वका ठूला लागूऔषध तस्करमध्ये एक भएको आरोप पनि लगाउँदै आएका छन्।