प्रधानमन्त्री ओली : ‘जेनजी पुस्ता देशप्रेमी हो, समाजलाई भड्काउने खेल अस्वीकार्य’

भैरहवा — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजलाई भड्काउने प्रयास अस्वीकार्य हुने बताएका छन्। ललितपुरको गोदावरीमा आयोजित पार्टी विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच आउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे।
ओलीले राष्ट्रियतालाई कविताको विषय वा क्षणिक स्वार्थको औजार नबनाउन चेतावनी दिँदै भने, “हामी स्वतन्त्रता र स्वाभिमानका लागि बलिदानबाट आएका हौं। नेपालको कानुन नमान्ने, संविधानलाई कमजोर पार्ने र स्वाधीनतालाई चुनौती दिने प्रवृत्ति कदापि स्वीकार्य हुँदैन।”
उनले पछिल्लो समयमा ‘जेनजी पुस्ता’को नाममा गलत प्रचारमार्फत समाजलाई भड्काउने प्रयास भएको दाबी गर्दै भने, “जेनजी पुस्ता वास्तवमै देशप्रेमी र भविष्यप्रति प्रतिबद्ध छन्। केही समूहले समाजलाई दिशाहीन बनाउन खोजे पनि त्यो सफल हुँदैन।”
सामाजिक सञ्जाल दर्ता गर्ने सरकारी पहललाई उनले स्वाधीनता र कानुनको मर्यादा कायम राख्न आवश्यक कदमको रूपमा व्याख्या गरे। ओलीले भने, “चार जनाको रोजगारीभन्दा ठूलो कुरा देशको सार्वभौमसत्ता हो। स्वाभिमान बिना स्वतन्त्रता सम्भव छैन।”
पार्टीको नीति विभेद अन्त्य र असमानता घटाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै उनले छलफलबाट तय गरिएका मार्गदर्शनलाई अँगाल्दै ‘मिसन ८४’ सफल पार्ने प्रतिबद्धता व्यक्त गरे।