बेइजिङमा हुने ‘विजय दिवस परेड’मा प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आगामी चीन भ्रमणको क्रममा बेइजिङमा हुने *जापानविरुद्धको विजय दिवस* परेडमा सहभागी हुने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली भदौ १८ गते (सेप्टेम्बर ३) बेइजिङमा हुने सो समारोहमा उपस्थित हुनेछन्। चीनले दोस्रो विश्वयुद्धमा जापानमाथि प्राप्त विजयको सम्झनामा प्रत्येक वर्ष यस दिनलाई ‘भिक्ट्री डे’का रूपमा मनाउँदै आएको छ।
सन् १९३७ देखि १९४५ सम्म चलेको युद्धमा चीन र जापानबीच भीषण लडाइँ भएको थियो। अन्ततः सन् १९४५ सेप्टेम्बर ३ मा जापानले आत्मसमर्पण गरेपछि चीनले यो दिनलाई विशेष दिवसका रूपमा मनाउने गरेको छ। बेइजिङको तियानमेन स्क्वायरमा आयोजना हुने यस परेडमा चिनियाँ जनमुक्ति सेनाले सैन्य शक्ति प्रदर्शन गर्ने परम्परा छ। सो अवसरमा अन्य मुलुकका राष्ट्रप्रमुखहरूलाई पनि आमन्त्रण गरिने गरिएको छ।
प्रधानमन्त्री ओलीको यो सहभागिताप्रति केही परराष्ट्रविद्हरूले चासो देखाएका छन्।
ओली भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङसहित विभिन्न नेतासँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किनेछन्।
---